अघि बढ्यो गोकर्ण बाँध–सुन्दरीजल वैकल्पिक सडक विस्तार, नगरपालिकाद्वारा २५ लाख बजेट विनियोजन
गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण बाँधको पूर्वपट्टिको बाटोदेखि सुन्दरीजलसम्म जोड्ने महत्वपूर्ण वैकल्पिक सडकको चौडाइ विस्तार तथा निर्माण कार्य अघि बढाइएको छ।
लामो समयदेखि साँघुरो रहेका कारण सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको उक्त सडकलाई विस्तार गर्ने प्रक्रिया अघि बढाइएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार सडक विस्तारका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण तथा नेपाल ट्रष्टसँग आवश्यक समन्वय तथा पत्राचार गरिएको थियो। साथै नगर कार्यपालिकाको पटक–पटक बसेको बैठकबाट आवश्यक निर्णय गर्दै निर्माण प्रक्रिया अघि बढाइएको हो।
सडक विस्तार तथा निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।
यस सडक विस्तारको विषयमा निवर्तमान प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका पूर्वसभापति सन्तोष चालिसेले पनि प्रतिनिधिसभामा पटक–पटक आवाज उठाउँदै आएका थिए।
नगरपालिकाले सडक निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै निर्माण सम्पन्न भएपछि गोकर्णेश्वर–४ र सुन्दरीजल क्षेत्रका स्थानीयवासीको आवतजावत सहज हुने विश्वास व्यक्त गरेको छ। साथै उक्त सडक क्षेत्रकै महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा विकास हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।