चिया तथा कफी क्षेत्र सुधार गर्न कार्यदल गठन गरिने
काठमाडौं — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालयमा शुक्रबार भएको छलफलमा मन्त्री चौधरीले उत्पादन, प्रशोधन, बजारीकरण तथा नीतिगत सुधारका विषयमा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन्।
उनले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै बोर्डको पुनःसंरचनाको मोडालिटी र आगामी कार्यदिशासहितको प्रतिवेदन दुई साताभित्र पेश गर्न निर्देशन दिएकी छन्।