नेपाल भ्रमणमा आएको चिनियाँ साहित्यिक तथा सांस्कृतिक टोली सम्मानित
नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक तथा सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन्। देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान र एसएस फाउण्डेसनद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा १५ सदस्यीय चिनियाँ टोलीलाई सम्मान गरिएको हो।
फाउण्डेसनका संरक्षक एवं गीतकार शोभित उप्रेती, अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेललगायतले टोलीका सदस्यलाई सम्मान गरेका हुन्।
जनवादी गणतन्त्र चीनको साहित्यिक तथा सांस्कृतिक टोलीको नेतृत्व लु सुन कल्चरल फाउण्डेसनका अध्यक्ष एवं विश्वप्रसिद्ध साहित्यकार लु सुनका नाति झाउ लिङफेईले गरेका छन्।
कार्यक्रममा संरक्षक उप्रेतीले चिनियाँ टोलीको नेपाल भ्रमणले दुई देशबीच साहित्यिक तथा सांस्कृतिक सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै, उपाध्यक्ष पोखरेलले भ्रमणले दुवै देशको साहित्य, संस्कृति र सभ्यताको विकासमा टेवा पुग्ने बताए।
अध्यक्ष श्रेष्ठले नेपालको कला र संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली तथा नेवारी नृत्य प्रस्तुत गरिएको थियो।
यसैबीच, चिनियाँ टोलीले पाटन दरबार स्क्वायरलगायत काठमाडौं उपत्यकाका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका स्थलहरूको भ्रमणसमेत गरेको छ। टोलीलाई शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानले पनि स्वागत गरेको थियो।