बाराको फेटा घटनापछि थुनिएका इन्स्पेक्टरसहित ३८ सरकारी कर्मचारीको उद्धार
बाराको फेटा स्वास्थ्य चौकी घटनापछि मुख्य भवनभित्र थुनिएका प्रहरी इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका क्रममा उनीहरू स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका थिए।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार शनिबार बिहान साढे १० बजेदेखि थुनिएका उनीहरूलाई करिब दुई घण्टापछि सकुशल उद्धार गरिएको हो।
शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएको थियो। विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर स्थानीय १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन्।
घटनापछि स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका प्रहरी तथा निजामती कर्मचारीसमेत घेराबन्दीमा परेका थिए।