मुगुमा वर्षा र हिमपातले बढायो चिसो, जनजीवन प्रभावित
मुगुमा शुक्रबार साँझदेखि भइरहेको वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। चिसो बढेसँगै सर्वसाधारणको दैनिकी प्रभावित हुनुका साथै हवाई तथा सडक यातायातसमेत प्रभावित भएको छ।
गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि शनिबार बिहान ८ः४५ बजेसम्म २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ।
केन्द्रका अवलोकनकर्ता नम्रता मल्लका अनुसार शनिबार बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ। तापक्रम घटेसँगै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका छन्।
निरन्तर वर्षाका कारण बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ। हिमपातले मुगुम कार्मारोङ गाउँपालिकाका डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु र चिमातलगायत गाउँ बढी प्रभावित भएका छन्।
स्थानीय फुर्वा फुटिक लामाका अनुसार हिमपात र वर्षाका कारण एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न तथा पशुचौपाया चराउनसमेत समस्या भएको छ।
मुगुका अग्ला हिमाली तथा बस्ती क्षेत्रमा हिमपात भइरहेको छ भने होचा स्थानमा वर्षा जारी रहेको केन्द्रले जनाएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गर्दै वर्षा र हिमपातको समयमा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
जिल्लामा वर्षा र हिमपात जारी रहे पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।