पहिरो खसेपछि हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध
अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान १०ः३० बजे इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। अवरुद्ध सडक खुलाउन स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी जेसीबी प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँ–हेटौँडा आउजाउ गर्ने सवारीसाधन तथा यात्रुहरू बाटोमै रोकिएका छन्। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले प्रहरीले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।