बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खस्ने, खोलामा लेदो र ढुङ्गामाटो बग्ने तथा पानीको बहाव बढ्ने गर्दा सडकमा यातायात आवागमन प्रभावित भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ को गिम्दीबेँसीस्थित बीपी राजमार्गमा आज बिहान ४ः५५ बजेदेखि खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट सुक्खा पहिरो खसेपछि आवागमन ठप्प भएको छ। मध्यपहाडी राजमार्गको खोटाङ खण्डसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि आवागमन प्रभावित भएको छ। ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाटमा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। पाल्पाको रामपुर नगरपालिका–१ कासिबनस्थित सडकमा पनि माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि आवागमन बन्द भएको छ।
त्यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
वर्षा जारी रहेकाले विभिन्न सडकखण्डमा थप पहिरो तथा बाढीको जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।