सल्यानमा दुई छुट्टाछुट्टै जिप दुर्घटना : ४ जनाको मृत्यु, १८ घाइते
सल्यानमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीया साउने रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ। प्रहरीले जिप चालक स्थानीय ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएको छ।
यस्तै, बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बनगाड कुपिण्डे नगरपालिका–१२ चौरबाट बालुवासंग्रहीतर्फ जाँदै गरेको रा.१ ज १७२३ नम्बरको बोलेरो दुर्घटना हुँदा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको हो। दुवै दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।