पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकार महासंघको मौन प्रदर्शन
पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरीले गरेको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
निरन्तरको वर्षाका बीच पत्रकारहरूले प्रेस स्वतन्त्रताको सुनिश्चितता र पत्रकारमाथिको धरपकड बन्द गर्न माग गर्दै मौन प्रदर्शन गरेका हुन्।
शुक्रबार साँझ सादा पोसाकमा आएका प्रहरीले विभिन्न सञ्चार गृहमा पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएका थिए। प्रहरीले पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई पक्राउ गरेको थियो।
पत्रकार पक्राउको घटनापछि विभिन्न सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध जनाएका थिए। घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले शुक्रबार राति नै नियन्त्रणमा लिएका सबै पत्रकारलाई रिहा गरेको थियो।