बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। वर्षासँगै भारी हिमपात भएपछि बडीमालिका माताको दर्शन तथा भ्रमणका लागि पुगेका उनीहरू सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।
कात्तिक ९ गते बाजुरा सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। टोलीका तीन जना भने बडीमालिका पुगेर सकुशल फर्किसकेको प्रहरीले जनाएको छ।
चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि सागर कार्कीसँग पनि गए रातिदेखि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
शाहीका अनुसार सागरले शुक्रबार फोन सम्पर्कका क्रममा बडीमालिकाबाट फर्कने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको बताएका थिए। भारी हिमपातका कारण उनीहरू त्यही क्षेत्रमा अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान छ।
दुवै जनाको मोबाइल फोन बन्द रहेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि मार्तडीबाट प्रहरी टोली खटाउने तयारी भइरहेको छ।
शुक्रबारदेखि भइरहेको वर्षा र उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण उद्धार कार्य प्रभावित हुन सक्ने प्रहरीले जनाएको छ।