४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो
म्याग्दीमा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाका २०/२० मेगावाट क्षमताका दुईवटै युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।
आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। अब परीक्षण उत्पादन घोषणा गरी १५ दिनसम्म परीक्षण सञ्चालन गरेपछि व्यावसायिक विद्युत् उत्पादन सुरु गरिनेछ।
आयोजनाले वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन गर्नेछ। कुल उत्पादनमध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने जनाइएको छ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ। विद्युत्को उच्च माग हुने साँझको समयमा दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा आयोजनाले योगदान पुर्याउने प्राधिकरणले जनाएको छ।
कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी र बाढीलगायतका चुनौतीका बाबजुद आयोजना निर्माण सम्पन्न गरिएको प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रोपावर लिमिटेडका सञ्चालक समिति अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले बताए।
राहुघाट आयोजनाको प्रारम्भिक क्षमता ३२ मेगावाट थियो। निर्माणका क्रममा ठेकेदारको कमजोर कार्यसम्पादनपछि ठेक्का रद्द गरिएको थियो। त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गरी प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण अघि बढाइएको हो।