हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडायो
हावाहुरीसहित परेको वर्षाले घोराही उपमहानगरपालिका–१, हर्नोकस्थित अम्बिका माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ।
शनिबार दिउँसो तीव्र हावासँगै परेको वर्षाका कारण विद्यालय भवनको छानो उडेको शिक्षक शान्तबहादुर पुनले जानकारी दिए। उनका अनुसार हावाहुरीले छानो उडाएपछि भवनमा समेत क्षति पुगेको छ।
विद्यालयको छानो उडेपछि पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले घटनाबाट भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।
पछिल्लो तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै विभिन्न स्थानमा हावाहुरीसमेत चल्दा भौतिक संरचनामा क्षति पुग्ने जोखिम बढेको छ। स्थानीयवासीले वर्षा र हावाहुरीका कारण थप क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन थालेका छन्।