लालबकैया नदीमा हाम फालेका युवकको शव फेला
रौतहटको लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका एक युवकको २७ घण्टापछि शव फेला परेको छ।
बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादवको शव शनिबार अपराह्न करिब ४ बजे घटनास्थलबाट १०–१२ किलोमिटर टाढा फतुवा क्षेत्रस्थित लालबकैया नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
यादव शुक्रबार दिउँसो करिब १ बजे मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए। उनी आफ्ना दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा पछाडि बसेर उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए।
पुलमा पुगेपछि मोटरसाइकल रोक्न लगाएर ओर्लिएका यादव अचानक नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताएका छन्। प्रहरीका अनुसार यादव मानसिक रूपमा अस्वस्थ रहेको बताइएको थियो।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खोजीमा परिचालन भएको थियो। नदीमा पानीको बहाव र गहिराइका कारण खोजीमा कठिनाइ भए पनि सुरक्षा टोलीले निरन्तर खोजी गरिरहेको थियो।
खोजीका क्रममा शनिबार यादवको शव फेला परेको हो। शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।