राजमार्ग अवरुद्ध हुँदा नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा बिहीबारदेखि लामो दूरीका बस बसपार्कमै रोकिएका हुन्।
पृथ्वीराजमार्ग, बीपी राजमार्गलगायतका प्रमुख सडकखण्ड अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लातर्फ जाने तथा ती जिल्लाबाट काठमाडौं आउने लामो दूरीका सवारीसाधनको सेवा प्रभावित भएको छ।
सडक अवरुद्ध हुँदा बसहरू गन्तव्यतर्फ जान नसकेपछि नयाँ बसपार्कमा नै रोकिएका छन्। लामो दूरीको यातायात सेवा प्रभावित हुँदा यात्रुसमेत समस्यामा परेका छन्।
लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने र यातायात अवरुद्ध हुने क्रम जारी रहेकाले राजमार्ग खुलेपछि मात्र लामो दूरीका बस नियमित सञ्चालनमा आउने अवस्था रहेको छ।