पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध, सयौँ विद्युतीय सवारी रोकिए
लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड आजदेखि अवरुद्ध भएको छ। सडकखण्डका विभिन्न तीन स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँमाथिको कालोभीर, कागबेनी–ताङ्वे सडक र लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडामा पहिरो खसेको हो।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार सेल्फीडाँडामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। तर चैलेस्थित कालोभीर र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण यातायात अझै अवरुद्ध छ।
कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरीचौकी कागबेनीबाट प्रहरी टोली त्यसतर्फ पठाइएको छ। सडक अवरुद्ध भएपछि चीनसँगको आयात–निर्यात प्रभावित भएको छ। कोरला नाकातर्फ मालसामान ढुवानी गर्न गएका तथा ढुवानी गरेर फर्किएका कन्टेनरसमेत पहिरोका कारण सडकमा अलपत्र परेका छन्।
यसैबीच, अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र–१ स्थित कागबेनी–मुक्तिनाथ सडकको खिङ्गामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको थियो। डोजर परिचालन गरी उक्त सडक सञ्चालनमा ल्याइएको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।
बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा समेत पहिरो खसेको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार घाँसा बगर खोल्सा, काभ्रेभीर, सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरलगायत स्थानमा पहिरो तथा ढुंगा खस्ने समस्या देखिएको छ।
सडक अवरुद्ध भएपछि चीनबाट आयात गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममै रोकिएका छन्। सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले दिउँसोको समयमा यातायातका साधन सञ्चालन नगर्नसमेत आग्रह गरेको छ।