चन्द्रागिरिबाट चोरीका दुई मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट चोरीका दुई वटा मोटरसाइकल, औजार र नगदसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल चन्द्रागिरि–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी–७ का २२ वर्षीय आकाश तामाङ र गजुरी–८ का २१ वर्षीय वेलबहादुर तामाङ रहेका छन्।
प्रहरीका अनुसार असोज ८ गते बिहान चन्द्रागिरि–९ मच्छेगाउँस्थित एक घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा चन्द्रागिरि–१ गोकुलपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट बा.प्र.०२–०४१ प ३९३४ र बा.प्र.०२४ प ६७०५ नम्बरका दुई मोटरसाइकल बरामद गरेको छ। साथै मोटरसाइकलको लक तोड्न प्रयोग हुने औजार, सिमकार्ड, मोबाइल फोन र नगद ५५ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।