मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द
काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलामाथिको पुलमा आवतजावत बन्द गरिएको छ।
पुलको फाउन्डेसन छेउमा रहेको ग्याबिन जालीसहितको जमिन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन तथा पैदल यात्रुको आवतजावतमा रोक लगाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीले जानकारी दिए।
उनका अनुसार पुलमा कुनै क्षति पुगेको छैन। तर पुलको छेउको जमिन धसिएपछि थप जोखिम हुन सक्ने भएकाले सावधानीस्वरूप आवतजावत रोकिएको हो।
मूलपानी–बोडे पुलले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई जोड्छ। निरन्तर वर्षा भइरहेकाले तत्काल मर्मतसम्भार गर्न सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म पुल बन्द गरिएको नगर प्रहरीले जनाएको छ।
पुल बन्द भएपछि मूलपानी हुँदै भक्तपुरतर्फ आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ।