नारायणी नदीमा बाढी, अमलटारीका रिसोर्ट डुबानमा
अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीका कारण पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ स्थित अमलटारी क्षेत्र डुबानमा परेको छ।
बाढीका कारण अमलटारीस्थित नाना जंगल रिसोर्ट र रोयल ग्यालेक्सी रिसोर्टमा पानी पसेको छ। नदीको जलस्तर बढेसँगै आसपासका क्षेत्रमा समेत डुबानको जोखिम बढेको छ।
डुबान प्रभावित क्षेत्रका स्थानीयको सामान सुरक्षित स्थानमा सार्न तथा आवश्यक उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
सुरक्षाकर्मीको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घर तथा व्यवसायबाट सामान निकाल्ने र सम्भावित जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने काम गरिरहेको छ।
लगातार वर्षा भइरहेकाले नारायणी नदी आसपासका बस्तीमा थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।