गुठी जग्गाबाट उठिबास लगाउन खोजेको भन्दै जनकपुरमा चर्को प्रदर्शन
सरकारले गुठी तथा कुटीको जग्गामा बस्दै आएका आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाउँदै जनकपुरधामका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। गुठी कुटी घरजग्गा व्यवस्थापन महासङ्घर्ष समितिको आयोजनामा शुक्रबार सयौँ स्थानीयवासीले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले नगर परिक्रमा गर्दै सरकार र गुठी संस्थानविरुद्ध नाराबाजी गरेका थिए। महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको प्रदर्शन मिल्स एरिया, भानुचोक, शिवचोक र जनकचोक हुँदै राममन्दिर पुगेर ज्ञापनपत्र बुझाइएको थियो।
ज्ञापनपत्र बुझाउनुअघि प्रदर्शनकारीले गुठी संस्थान तथा सरकारविरुद्ध नाराबाजी गरेका थिए। नगर परिक्रमा सकेपछि प्रदर्शनकारीले रामानन्द चोकमा मुख्य राजमार्गसमेत अवरुद्ध गरी कोणसभा गरेका थिए।
कोणसभामा स्थानीय रामवरण पासवानले आफूहरूले सरकारबाट न्यायको अपेक्षा गरे पनि वर्षौंदेखि बस्दै आएको स्थानबाट हटाउन खोजिएको आरोप लगाए। यस्तो निर्णय जबर्जस्ती कार्यान्वयन गर्न खोजिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने उनको चेतावनी थियो।
आयोजक गुठी कुटी घरजग्गा व्यवस्थापन महासङ्घर्ष समितिका अध्यक्ष सन्तोष साहले स्थानीय सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधानमा चासो नदिएको आरोप लगाए।
‘जनकपुर गुठी र कुटीमा नै बसेको इतिहास छ। नगर क्षेत्रभर ३० देखि ३५ हजार घरको बसोबास रहेको छ। अहिले सरकारले एक्कासि गुठी अतिक्रमणको नाममा सबैलाई विस्थापित गराउन खोज्दैछ, अनि हामी चुप लागेर बस्नुपर्ने ?’ उनले प्रश्न गरे।
उनले गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयलाई जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसमेत गरे।
प्रदर्शनकारीले आफूहरूको बसोबास र जग्गासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।