भोटेकोशी बाढीमा रसुवाका ३८ विद्यार्थी बेपत्ता, २०१ अभिभावक सम्पर्कविहीन
भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीमा परी जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ विद्यार्थी बेपत्ता भएका छन् भने २०१ अभिभावकसमेत बेपत्ता भएको प्याब्सन रसुवाले जनाएको छ।
प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका ९ विद्यार्थी बेपत्ता छन्।
बाढीका कारण अभिभावक गुमाएका सयौँ बालबालिकाको पठनपाठनसमेत प्रभावित भएको छ। विभिन्न विद्यालयका गरी ठूलो संख्यामा विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन्।
बाढीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिकासमेत बेपत्ता रहेको प्याब्सनले जनाएको छ।
जिल्लाका सात संस्थागत विद्यालयमध्ये पाँच वटा पुनः सञ्चालनमा आइसकेका छन् भने ठूलो क्षति पुगेका दुई विद्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठन तथा आवश्यक सहयोग उपलब्ध गराउन पहल भइरहेको प्याब्सन रसुवाले जनाएको छ।