भोटेकोशी बाढीबाट क्षतिग्रस्त २० झोलुङ्गे पुलको मर्मत सुरु
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरेको जनाएको छ। बाढीबाट क्षति पुगेका ५३ झोलुङ्गे पुलमध्ये तत्काल मर्मत गर्नुपर्ने २० वटा पुलको काम अघि बढाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा बाढीबाट प्रभावित भएका थिए। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर स्थलगत मूल्याङ्कन गरेपछि २० वटा पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। हाल महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत कार्यमा प्रगति भएको जनाइएको छ।
यी पाँचवटै पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ। पुल मर्मत भएपछि बाढीबाट प्रभावित स्थानीयको आवतजावत सहज हुनुका साथै राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, बाढीबाट क्षतिग्रस्त भई पुनःनिर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। सरकारले मर्मत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिँदै प्रभावित क्षेत्रको आवागमन क्रमशः सहज बनाउने तयारी गरेको छ।