कांग्रेसको वडा अधिवेशनमा दुई पक्षबीच हातहाल, एक जना नियन्त्रणमा
विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनअन्तर्गत मतदान भइरहेका बेला दुई पक्षबीच हातहाल भएको छ। विवादपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई केहीबेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमद रहेका छन्।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला दुई पक्षबीच विवाद भएको थियो। विवादले हातहालको अवस्था सिर्जना भएपछि केही समय मतदान प्रक्रिया रोकिएको थियो। स्थिति सामान्य भएपछि मतदान प्रक्रिया पुनः सुरु भएको बताइएको छ।
वडा अधिवेशनमा सहमति जुट्न नसकेपछि मतदानमार्फत नेतृत्व चयन गर्न लागिएको हो। वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
यसैबीच, नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश पालिकाको अधिवेशन सम्पन्न भएको छ।