वाणिज्य बैंकले माघका लागि ब्याजदर घटाए, मुद्दती निक्षेपको औसत ४.६८ प्रतिशतमा झर्यो
३० पुस, काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन्। उच्च तरलता र कमजोर कर्जा प्रवाहका कारण बैंकहरूको ब्याजदर ओरालो लागेको हो।
२० वटा वाणिज्य बैंकको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर पुसको तुलनामा माघमा औसत ०.१४९५ प्रतिशत विन्दुले घटेर ४.६८४५ प्रतिशतमा झरेको छ। पुसमा यो औसत ४.८३४ प्रतिशत थियो।
माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत कायम छ, जुन ग्लोबल आईएमई बैंकले निर्धारण गरेको हो। पुसको तुलनामा ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन्। प्राइम कमर्सियल बैंकले भने सामान्य वृद्धि गरेको छ।
ब्याजदर घटाउने बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन्। स्थिर राख्नेमा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन्।
निक्षेपको ब्याजदर घट्दा आधार दर घट्ने र त्यसको असर कर्जाको ब्याजदरमा समेत पर्ने बैंकहरूले बताएका छन्। बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त रहेकाले ब्याजदर घट्दो क्रममा रहेको हो। राष्ट्र बैंकले पनि तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणमार्फत बैंकिङ प्रणालीबाट रकम खिच्दै आएको छ।