नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.३८ अंकले वृद्धि हुँदै २७३१.८९ विन्दुमा बन्द भएको हो।
यद्यपि परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार घटेर ११ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार ३३४ वटा धितोपत्रको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच भएको छ। यस दिन १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
कारोबारका क्रममा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युतको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। ती कम्पनीको प्रतिकित्ता सेयर मूल्य क्रमशः दुई हजार १९६ रुपैयाँ ७० पैसा र ३०४ रुपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, गुडविल फाइनान्स डिबेन्चरको मूल्य सर्वाधिक ८.०७ प्रतिशतले घट्दै प्रतिडिबेन्चर मूल्य एक हजार १३९ रुपैयाँमा झरेको छ।
बुधबार आँखुखोला जलविद्युतको सेयरमा सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०४ रुपैयाँ ७० पैसामा ८३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा राधी विद्युत कम्पनी रहेको छ। राधी विद्युतको प्रतिकित्ता ८६३ रुपैयाँमा ५४ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने आठ समूहको परिसूचक बढेको छ। तीमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको छ।