सुनको भाउले बनायो नयाँ कीर्तिमान, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो। आजको तीव्र मूल्यवृद्धिसँगै १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्राममा ६ हजार ४३४ रुपैयाँमा कारोबार भइरहेको छ।
आज कायम भएको सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा निरन्तर प्रभाव परिरहेको व्यवसायीहरूको भनाइ छ।