एकैदिन सुन तोलामा १० हजार ४ सय रुपैयाँले उकालो, हालसम्मकै उच्च मूल्य
७ माघ, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढ्दै जाँदा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै बुधबार ५ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।