राष्ट्रिय सभाको निर्वाचनमा १३ दल भाग लिँदै, निर्वाचन चिह्न पनि तोकियो
काठमाडौं, १९ मंसिर – आगामी राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने भएका छन्। निर्वाचन आयोगले दलदर्ताको निवेदन स्वीकृत गर्दै प्रत्येक दललाई निर्वाचन चिह्न पनि प्रदान गरेको छ।
मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालको चिह्न रहनेछ। त्यसपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ। नयाँ दर्ता भएका नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको चिह्न मतपत्रको अन्तिममा रहनेछ।
आयोगका अनुसार सबै दलको निर्वाचन चिह्न सातै प्रदेशमा समान रहनेछ। आगामी फागुन २० बाट १९ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ। त्यसमध्ये एक जना राष्ट्रपतिद्वारा मनोनित हुनेछन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ।
प्रदेश अनुसार कोशी प्रदेशबाट ३, मधेश प्रदेशबाट ४, बागमती र गण्डकी प्रदेशबाट २/२, लुम्बिनी प्रदेशबाट ३, र कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट २/२ सदस्य निर्वाचन हुनेछ। आयोगले २०७९ को प्रतिनिधि सभा समानुपातिक मतका आधारमा दलहरूको निर्वाचन क्रम निर्धारण गरेको जनाएको छ।