उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठको राजीनामा
ऊर्जामन्त्री कुलमान घिसिङसमेत नेतृत्वसँग जोडिने उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आजदेखि पार्टीको केन्द्रीय सदस्य पद त्यागेको सार्वजनिक रूपमा स्पष्ट पारिन्।
श्रेष्ठले लेखेकी छन्, “म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ? मेरो नैतिकताले दिएन।”
उनका अनुसार हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भइरहेको सडक विस्तार कार्यका क्रममा भएका घटनाले आफूलाई गहिरो रूपमा स्पर्श गरेको र पीडितहरूको पक्षमा उभिनु आफ्नो नैतिक दायित्व ठानेकाले राजीनामा दिन बाध्य भएको बताइन्।
हेटौँडामा भौतिक संरचना भत्काउने कार्यसँग असहमति
हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानैदेखि सडक सीमाभित्रका संरचना डोजर प्रयोग गरेर भत्काइएको थियो। सडक डिभिजन कार्यालय हेटौँडाले २५/२५ गज विस्तारका लागि मुख्य बजार क्षेत्रमा रहेका संरचनाहरू हटाउन सुरु गरेको छ। यही घटनाले आफूलाई नैतिक रूपमा विचलित बनाएको श्रेष्ठको भनाइ छ।
श्रेष्ठले अन्य अभियन्ता तथा सहकर्मीहरूलाई समेत वर्तमान परिस्थितिमाथि गम्भीर भएर विचार गर्न आग्रह गरेकी छन्। उनले थप लेखेकी छन्, “नैतिकता छ ममा, त्यसैले राजीनामा। बुझ्न अनुरोध गर्छु। मरेका मान्छे बोल्दैनन्, म जिउँदै छु।”
श्रेष्ठको राजीनामाले पार्टीभित्र नयाँ बहस सुरु भएको छ। यस कदमलाई उज्यालो नेपाल पार्टीका लागि आन्तरिक चुनौतीका रूपमा पनि हेरिएको छ।