आगामी फागुन २१ को निर्वाचनमा ११४ दल सहभागी, १०७ निर्वाचन चिह्न सार्वजनिक
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ राजनीतिक दलले सहभागिता जनाउने भएका छन्। निर्वाचन आयोगमा दर्ता भएका १४३ मध्ये निर्वाचन प्रयोजनका लागि १२० दलले आवेदन दिएका थिए। तीमध्ये ११४ दल अन्तिम चरणमा चुनावमा प्रतिस्पर्धाका लागि तैयार भएका हुन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ दलले एकल रूपमा र १२ दलले संयुक्त रूपमा एउटै चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। यस आधारमा आयोगले कूल १०७ वटा निर्वाचन चिह्न प्रदान गरेको छ।
आयोगले प्रदान गरेका चिह्नमध्ये पहिले नम्बरमा सूर्य, दोश्रोमा रुख, तेस्रोमा तारा र चौथोमा घण्टी रहेका छन्। यस्तै हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको ढकिया, साइकल, मादल, गिलास, लौरो, एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार पनि चिह्नका रूपमा प्रयोग हुनेछन्।
यसपटक कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ–तारा, कमलको फूल, उल्टो धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि विभिन्न दलले प्रयोग गर्ने चिह्नमा पर्छन्।
तुलसी मठ, गाग्री, ब्याट्री, काँधमा ढुङ्गा बोकिरहेको व्यक्ति, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलोभित्र शंख, बज्र, हात्ती, उडिरहेको महुरी, पुरुष, काखमा बच्चा बोकेको आमा, चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा माटो, बाली बोकेकी महिला, कोदालो बोकेको किसान, त्रिशुल, घोडा, गुलाफको फूल, गाग्रो–कलश, कम्प्युटर किबोर्ड, २४ किला भएको चक्र, हात मिलाएको, चापाकल लगायतका चिह्न पनि यसपटक देखिनेछन्।
बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्ष, दुई पैताला, करुवा, षट्कोण, सुकुन्दा, पुल, चकिया, बिरुवा, पानीको बोत्तल, बुल्डोजर, सिउने कल, महिला–पुरुष हात मिलाएको आकृति, तराजु, खरायो, जुत्ता, खुला किताब, ताला, कान, श्रीवत्स, लाइक चिन्ह, कोदालो, मकैका बाला, हातको संकेत, जगरसहितको सिंह, डुङ्गा र भैँसी पनि चिह्नका रूपमा प्रदान गरिएको आयोगले जनाएको छ।
आगामी चुनावमा निकै विविधता भएका यी चिह्नहरूले मतदातालाई दल पहिचान गर्न सहज बनाउने आयोगको भनाइ छ।