रास्वपाले सभापति रवि लामिछानेबारे सरकारको स्पष्ट धारणा माग्यो
१९ मंसिर, काठमाडौं । बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान सरकारको स्पष्ट धारणा माग गरेको छ।
बैठकमा रास्वपाका तर्फबाट नेतृ सोबिता गौतम र नेता शिशिर खनाल सहभागी हुँदै यसअघि औपचारिक तथा अनौपचारिक छलफलहरूमा पनि यही विषय उठाइए तापनि सरकारले अझै स्पष्ट जवाफ नदिएको कारण पुनः धारणा मागिएको बताए। रास्वपा नेताहरूले पार्टी सुरूवातदेखि नै निर्वाचनमै केन्द्रित रहेको र भयरहित वातावरण बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए।
खनालले देशभित्र तथा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराएको जानकारी दिए। त्यस्तै, नेतृ गौतमले विधिको शासन पुनःस्थापना गर्ने मुख्य माध्यम निर्वाचन भएकाले शान्तिपूर्ण र स्वतन्त्र निर्वाचनको वातावरण निर्माण गर्न सरकार अझै सक्रिय हुनुपर्ने बताइन्। उनले सभापति लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै अहिलेका केही मन्त्रीहरूले सरकार बन्नुअघि व्यक्त गरेका अभिव्यक्तिको सन्दर्भ स्मरण गराउँदै सरकारले अब आधिकारिक तरिकाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन्।
प्रतिशोधजस्तो संवेदनशील विषयमा कानुनी र राजनीतिक रूपमा के–कस्ता सुधार सम्भव छन् भन्ने पनि स्पष्ट पार्नुपर्ने रास्वपाको निष्कर्ष बैठकमा प्रस्तुत गरिएको थियो।