वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशत वृद्धि
वीरगञ्ज — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात १७ प्रतिशतले बढेको हो।
गत आवको पाँच महिनामा वीरगञ्ज नाका हुँदै रु तीन खर्ब छ अर्ब एक करोड मूल्यका सामान आयात भएका थिए। यस आधारमा चालु आवमा आयात मूल्य रु ५३ अर्ब ३२ करोडले वृद्धि भएको देखिन्छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार आयातमा आएको वृद्धिसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा बढेको छ। उनका अनुसार चालु आवको पाँच महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।
उक्त अवधिमा रु ७२ अर्ब २८ करोड बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ। त्यसैगरी, रु ३१ अर्ब ६५ करोड मूल्य बराबरका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्।
त्यस्तै, रु २४ अर्ब ६० करोड मूल्यका मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रु २२ अर्ब ८५ करोड मूल्य बराबरको भटमासको कच्चा तेल पनि आयात भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार अधिकारीहरूका अनुसार उद्योग तथा निर्माण क्षेत्रमा माग बढेसँगै आयातमा वृद्धि भएको देखिएको छ, जसले समग्र आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत गर्दछ।