सर्वपक्षीय बैठक सम्पन्न, सरकारलाई ‘चुनावमै केन्द्रित हो’ भन्ने दलहरूको सुझाव
१९ मंसिर, काठमाडौं | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको सर्वपक्षीय बैठक सम्पन्न भएको छ। निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकमा आगामी निर्वाचनका तयारीबारे विस्तृत छलफल गरिएको हो।
बैठकमा सहभागी नेताहरूका अनुसार दलका प्रतिनिधिहरूले आफ्नो–आफ्नो तयारीबारे सरकारलाई जानकारी गराएका थिए। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले राजनीतिक दलहरूले सरकारलाई स्पष्ट रूपमा निर्वाचनमा मात्रै केन्द्रित हुन आग्रह गरेको बताए।
‘यो चुनावी सरकार हो, यसले यताउता ध्यान नदिई चुनावमा नै अर्जुनदृष्टि लगाउनुपर्छ,’ ज्वालाले बैठकपछि भने। उनका अनुसार निर्वाचनसँग सम्बन्धित वातावरण सुरक्षित र सहज बनाउन सरकारलाई थप सक्रिय हुन सुझाव दिइएको छ।
कुनै–कुनै दलले केही आशंका राखेपनि अधिकांश दलहरूले निर्वाचनका लागि आफूहरू तयार रहेको बैठकमा जानकारी गराएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले भने सरकार निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। ‘हामीलाई सहयोग गर्नुस्, हामी निर्वाचन गराउन तत्पर छौं। निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,’ ज्वालाले उद्धृत गर्दै प्रधानमन्त्री कार्कीको भनाइ बताए।
बैठकले आगामी निर्वाचन तयारीलाई थप गति दिने अपेक्षा गरिएको छ।