कांग्रेस सुधार अभियानले ७७ जिल्लामा ४० वर्षमुनिका नवयुवाको संयोजक तोकेको
काठमाडौं। नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले देशभरका ७७ वटै जिल्लामा नयाँ जिल्ला संयोजक चयन गरेको छ। अभियानले ४० वर्षमुनिका नवयुवालाई पार्टीभित्र सक्रिय रूपमा सहभागी गराउने उद्देश्य राख्दै जिल्लास्तरमा संयोजक तोकेको हो।
अभियानका संयोजक शिव रिमालले पार्टीभित्र हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले बताएअनुसार, पार्टीको तर्फबाट केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा युवालाई पर्याप्त अवसर उपलब्ध गराउने अभियानको मुख्य लक्ष्य हो।
सुधार अभियानले भ्रष्टाचारविरुद्ध सचेतना फैलाउने, सुशासन कायम गर्ने र पार्टीका हरेक निकायमा उम्मेदवार चयन गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था लागू गर्ने योजना बनाएको छ। साथै, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि नयाँ बहस, पैरवी र खबरदारीको काम सबै जिल्लामा फैलाउने उद्देश्यले संयोजकहरू नियुक्त गरिएको रिमालले जानकारी दिए।