प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
मंसिर २३ गते दायर गरिएको रिट बुधबार संवैधानिक इजलासमा सुनुवाइका क्रममा परेको थियो। घिमिरेका अनुसार रिटमाथि अदालतले कारण देखाऊ आदेश जारी गरेको हो।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।
कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक सिफारिसमा संसद् विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभा तत्काल पुनर्स्थापनाको माग गरिएको छ। साथै प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ।