एमाले प्रतिनिधि छनोटमा ओखलढुंगामा विवाद
विराटनगर, १९ मंसिर – नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगामा प्रतिनिधि छनोट प्रक्रियामा विवाद उत्पन्न भएको छ। केन्द्रीय कार्यालयले झुटो दाबी गर्दै प्रतिनिधि छनोट रद्द गरी पालिकास्तरमै निर्वाचन गर्न निर्देशन दिएको पक्षले जनाएको छ।
एमाले केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीद्वारा मंसिर १६ गते जारी पत्रमा उल्लेख छ कि ‘आम सदस्यहरूको सहजताका लागि ८ मध्ये ६ वटा पालिका कमिटीले गाउँमै चुनाव गर्न माग गरेको र बहुसंख्यक उम्मेदवार असहमति जनाएको’ भन्दै सदरमुकाममा भएको निर्वाचन स्वीकार गर्न सकिएको छैन। पत्रमा ५ दिनभित्र पालिका स्तरमै मतदान केन्द्र व्यवस्थापन गरी पुनः निर्वाचन गर्न निर्देशन दिइएको छ।
तर प्राप्त कागजातले देखाएको छ कि जिल्लाका पाँचवटा गाउँपालिका कमिटी – मानेभन्ज्याङ, चम्पादेवी, सुनकोशी, मोलुङ र चिशंखुगढी – ले मंसिर ११ गते नै जिल्ला कमिटीलाई पत्र लेख्दै ‘पालिका स्तरमा मतदान केन्द्र व्यवस्थापन गर्दा सुरक्षा चुनौती, आर्थिक व्यवस्थापन र दक्ष जनशक्तिको अभाव हुने’ भन्दै चुनाव पालिकास्तरमा गर्न नसकिने स्पष्ट पारेका थिए।
यसबाट एमाले केन्द्रीय कार्यालयको दाबी र स्थानीय पालिका कमिटीको वास्तविक अवस्था बीच ठूलो फरक देखिएको छ। प्रतिनिधि छनोट प्रक्रियामा भएको यस विवादले आगामी महाधिवेशन अघि पार्टीभित्र असहमति र द्विविधाको संकेत गरेको विश्लेषकहरू बताउँछन्।