राष्ट्रपति पौडेल : ‘नागरिकको जीवनस्तर सुधार आजको प्रमुख आवश्यकता’
२० मंसिर, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार ल्याउनसक्ने विकास आजको प्रमुख आवश्यकता भएको बताएका छन्। ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा चुस्तता र सुशासनले मात्र नागरिकको मुहारमा खुशी ल्याउन सक्ने उल्लेख गरे।
राष्ट्रपतिले नयाँ पुस्ताको सोच, भावना र अपेक्षा बुझेर राजनीतिक नेतृत्वले आफूलाई रुपान्तरण गर्दै लैजानु समयको माग भएको बताए।
“लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन, यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुसार काम गर्ने संस्कार र शैली हो,” उनले भने, “यसका लागि नेतृत्व र जनप्रतिनिधिमा दृढ इच्छा, असल आचरण र लोकहितप्रतिको समर्पण अनिवार्य हुन्छ।”
संविधानले स्थानीय तहलाई विकास निर्माणदेखि सेवा प्रवाहसम्म व्यापक अधिकार र जिम्मेवारी दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले स्थानीय सरकार नै नागरिकको नजिकको सरकार भएकाले सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत राज्यप्रति भरोसा अभिवृद्धि गर्न स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
नागरिकका गुनासा, असन्तुष्टि र माग बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक संस्कार पनि उत्तिकै जरुरी रहेको उल्लेख गर्दै उनले जनताको चाहनालाई प्राथमिकता दिएर काम गर्न स्थानीय सरकार तथा जनप्रतिनिधिलाई आग्रह गरे।
उद्घाटन कार्यक्रमका क्रममा उनले पूर्वाधार निर्माणसँगै नागरिकको जीवनस्तर उकास्ने, सुशासन सुनिश्चित गर्ने तथा राजनीतिक नेतृत्वले परिवर्तनशील समाजको अपेक्षा अनुसार आफ्नै कार्यशैली परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।