झापामा ३५ हजारभन्दा बढी नयाँ मतदाता थपिए, कुल मतदाता संख्या ७ लाख १४ हजार पुग्यो
झापा, २३ मंसिर – झापामा हालै ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार नयाँ मतदातामध्ये ११ हजार ७३३ जना कार्यालयमा उपस्थित भएर जैविक विवरण (बायोमेट्रिक्स) मार्फत र २४ हजार २४९ जना राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएका छन्।
उनका अनुसार नयाँ थपिएको मतदातासहित जिल्लाको कुल मतदाता संख्या सात लाख १४ हजार ५९५ पुगेको छ। निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि तोकिएको समयसमाप्त भइसकेको छ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको विवरणको आधारमा अनलाइनमार्फत पनि मतदाता दर्ता गर्ने व्यवस्था गरेपछि नाम दर्ता गर्नेको संख्या बढेको प्रमुख नेपालले बताए।
थपिएका मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्ने अवसर पाउनेछन्। यो व्यवस्था अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेपछि हाल उमेर पुगेका नागरिकलाई मतदाता सूचीमा नाम दर्ता गराउन मिल्ने गरी गरिएको हो।