डेडिकेटेड र ट्रंक लाइन महसुल : जगदम्बा स्टिल र त्रिवेणी स्पिनिङले पहिलो किस्ता बुझाए
काठमाडौँ, २६ कात्तिक । डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने बारा–पर्सा औद्योगिक करिडोरका दुई उद्योगले आज पहिलो किस्ताको विद्युत् महसुल बुझाएका छन् ।
बाराको सिमरास्थित जगदम्बा स्टिल र पर्साको त्रिवेणी स्पिनिङ उद्योगले बुधबार साँझ ४ बजे विद्युत् महसुलको पहिलो किस्ताको रकम बुझाएका हुन् ।
जगदम्बा स्टिलको कुल बुझाउनुपर्ने १ अर्ब ६० करोडमध्ये पहिलो किस्ताको ५ करोड ७२ लाख र त्रिवेणी स्पिनिङ उद्योगको कुल ३२ करोड ९ लाखमध्ये पहिलो किस्तास्वरूप १ करोड १४ लाख रुपैयाँ महसुल रकम बुझाएका हुन् । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल रकमलाई २८ किस्तामा बुझाउने व्यवस्था गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेती र वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले कात्तिक ४ गते काटिएको जगदम्बा र त्रिवेणी दुवै उद्योगको ६६ हजार केभीको प्रसारण लाइन महसुल बुझाए लगत्तै जडान गरिएको बताएका छन् ।
विद्युत् लाइन काटिएको २२ दिनपछि उद्योगीहरू कसरी महसुल बुझाउन तयार भए भन्ने विषयमा माथिल्लो स्तरको छलफलबाटै टुंगिएको सिमरा वितरण केन्द्रले जनाएको छ । ‘प्रधानमन्त्रीसहितको उच्चस्तरीय छलफलपछि उहाँहरू महसुल बुझाउन तयार हुनुभयो,’ सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले भने ।
यसअघि डेडिकेटेड र ट्रंक लाइनको महसुल बुझाउन बाँकी रहेका बारा पर्सा औद्योगिक करिडोरका हुलास स्टिल, हामा आइरन, अशोक स्टिल लगायतका उद्योगले पहिलो किस्ताको रकम बुझाइसकेका छन् ।