नेवानिलाई २१ करोड बक्यौता तुरुन्त तिर्न निर्देशन
२१ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि)लाई करिब २१ करोड रुपैयाँ बराबरको बक्यौता तत्काल तिर्न निर्देशन दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेयले नेवानिलाई पत्र लेख्दै २० करोड ९९ लाख ७१ हजार २ सय ५० रुपैयाँ यथाशीघ्र भुक्तानी गर्न आग्रह गरेका छन्। प्राधिकरणले समयमै बक्यौता नतिरे कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।
प्राधिकरणका अनुसार नेवानिले विमानस्थलका सेवा शुल्क, पार्किङ शुल्क र अन्य बक्यौता रकम लामो समयदेखि तिर्न बाँकी राखेको छ।