वर्षा र बाढीले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी क्षति
काठमाडौं, २१ कात्तिक – असोजको भारी वर्षा र बाढीपहिरोका कारण यस वर्ष नेपालमा कृषि क्षेत्रमा व्यापक क्षति भएको छ। प्रारम्भिक तथ्यांकअनुसार कोशी, मधेश र बागमती प्रदेशमा कुल ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
मुख्यतः धान, तरकारी, फलफूल र उखु बाली डुबान तथा कटानमा परेका छन्। सबैभन्दा बढी क्षति मधेश प्रदेशमा भएको छ, जहाँ २ अर्ब ९८ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।
कात्तिकमा पाकेको धानबाली उठाउने बेला परेको वर्षाले थप क्षति पुर्याएको भए पनि त्यसको तथ्यांक संकलन भइरहेको छ। कृषि मन्त्रालयले सम्पूर्ण विवरण संकलन गरी सम्बन्धित निकायमा पठाउने तयारी गरेको छ।