नेशनल आइडीसहित नागरिकले अब अनलाइन मतदाता दर्ता गर्न सक्ने
काठमाडौं, २७ कात्तिक – सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) भएका नागरिकहरूलाई अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ।
निर्वाचन आयोगले आजैदेखि लागू हुने गरी यो सुविधा सुरु गरेको हो। अब राष्ट्रिय परिचयपत्र भएका नेपालीहरूले घरबसै अनलाइनमार्फत आफ्नो मतदाता नाम दर्ता गर्न सक्नेछन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बताए, *“अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने छन्। उहाँहरूले फारम भर्दा नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक प्रयोग गरी विवरण दर्ता गरिनेछ र त्यसपछि उनीहरूको विवरण स्वतः मतदाता नामावलीमा पनि दर्ता हुनेछ।”*
सरकारले मतदाता नामावली दर्ता गर्नको लागि ३० कात्तिकसम्मको समयसीमा तोकेको छ। आयोगले उल्लेख गरेको छ कि ठूलो संख्यामा नागरिकले नाम दर्ता गर्न बाँकी छ, त्यसैले अब तीन दिनभित्र दर्ता गराउनेहरूको संख्या बढाउने प्रयास भइरहेको छ।
यस नयाँ व्यवस्थाले नेपालमा बसोबास गर्ने र विदेशमा रहेका नागरिक दुबैका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सजिलो बनाएको छ।