एमाले महाधिवेशन प्रतिनिधिका लागि शुल्क निर्धारण
काठमाडौँ । नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई दुई थरी शुल्क तोकेको छ । एमालेको बिहीबार बसेको सचिवालय बैठकले प्रतिनिधि बन्नेलाई पदेन प्रतिनिधिका लागि ३ हजार र निर्वाचित प्रतिनिधिका लागि २ हजार शुल्क तोकेको हो ।
सचिवालय बैठकले एमाले महाधिवेशन प्रतिनिधि छनोट सम्बन्धी प्रस्ताव समेत संशोधन गरेको छ । जसअन्तर्गत आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन हुनेछन् ।
त्यस्तै प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटी सरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने एमालेले निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटी सरह १२०० सदस्यभित्र ४० वर्ष मुनिका युवाहरू चयन गर्ने भएको छ ।
यस्तै घरफिर्ती अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट पार्टीमा आबद्ध भएका व्यक्तिहरूमध्ये ती समूहका केन्द्रीय समितिमा रहेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि कायम गर्ने एमालेले जनाएको छ ।
यसो गर्दा एमालेका महाधिवेशन प्रतिनिधिको सङ्ख्या केही बढ्न सक्ने नेताहरूले बताएका छन् । यसअघि २१ सय २७ जना हाराहारी महाधिवेशन प्रतिनिधि चयन हुने एमालेले जनाएको थियो । एमालेले देशभर मंसिर १३ गते एकै दिन महाधिवेशन प्रतिनिधि छान्ने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न १४ वटा समिति गठन गरेको छ