विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले विश्वविद्यालयहरूलाई राजनीतिबाट मुक्त बनाई स्वायत्त रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्। बुधबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा बोल्दै उनले विश्वविद्यालयमा स्थिरता र पारदर्शिता कायम गर्न राजनीतिक हस्तक्षेप हटाउन आवश्यक रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको वार्षिक नीति तथा कार्यक्रम असारमै पारित हुनुपर्ने भए पनि मंसिरसम्म पर्खनुपर्ने अवस्था संस्थागत कमजोरीको सूचक भएको टिप्पणी गरिन्। मुलुकको कमजोर आर्थिक अवस्थाले विश्वविद्यालयदेखि अन्य क्षेत्रसम्म असर पुगेको बताउँदै उनले विश्वविद्यालयहरू शैक्षिक तथा प्रशासनिक मात्र नभई आर्थिक रूपमा पनि आत्मनिर्भर बन्नुपर्ने उल्लेख गरिन्।
उनका अनुसार विश्वविद्यालयका स्वामित्वमा रहेका पूर्वाधारलाई उत्पादनशील रूपमा प्रयोग गरी आन्तरिक आम्दानी बढाउन सकिन्छ।
विश्वविद्यालयको गुणस्तर अभिवृद्धिका लागि सरकार निरन्तर सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्कीले शैक्षिक सुधार, डिजिटल रूपान्तरण र अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन्।