नेप्से कर्मचारीको बोनस मागमा विरोध प्रदर्शन
काठमाडौँ, कात्तिक ९ — नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कर्मचारीहरूले आइतबार परिसरमै ब्यानरसहित विरोध प्रदर्शन गरेका छन्। कर्मचारीहरूले असोज ७ देखि बोनस लागू नगरेको विरोध गर्दै आन्दोलन जारी राखेका थिए।
श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई ५ प्रतिशत बोनस छुट्याउन आदेश दिएको भए पनि व्यवस्थापनले सर्वोच्चमा रिट दायर गर्दै आदेश कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरू आन्दोलित छन्। नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले भने, “व्यवस्थापनको नियतविरुद्ध हाम्रो आन्दोलन हो, तर नियमित कार्यमा कुनै अवरोध छैन।”
नेप्से व्यवस्थापनले असोज २८ मा श्रमको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ। उच्च अधिकारीले भने, “सर्वोच्चको निर्णय अनुसार मात्र बोनस कार्यान्वयन हुनेछ।”
कर्मचारीहरूले नेप्सेमा एकाधिकार भएको दाबीलाई अस्वीकार गर्दै ५ प्रतिशत बोनसको माग गर्दै आएका छन्। हालसम्म अर्थ मन्त्रालयले एक प्रतिशत बोनस मात्रै स्वीकृत गर्दै आएको छ। कर्मचारीको भनाइ अनुसार, स्टक एक्स्चेन्ज सम्बन्धी कुनै नियमले नेप्सेलाई एकाधिकार संस्था मान्दैन, र यसै आधारमा श्रमले पनि ५ प्रतिशत बोनस छुट्याउन निर्देशन दिएको छ।