प्रतिनिधि सभाको बैठकमा आज अर्थसहित ३ मन्त्रालयगत बजेटको शीर्षकमाथि छलफल गरिंदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बिहान बस्ने भएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे बस्ने भएको हो । आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयगत शीर्षक माथिको छलफल जारी रहने भएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गत शीर्षकमा छलफल हुने भएको हो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, सांसद रामहरि खतिवडा, डा.अमरेश कुमार सिंह, प्रेम सुवाल, मुक्ता कुमारी यादव, राजेन्द्र प्रसाद लिङ्देन, रोशन कार्की र श्यामकुमार घिमिरेले मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।