हारेका प्रिगोजिन र जित्न संघर्षरत पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तित्व लडाकुझैँ छ । उनी धोकाप्रति निकै संवेदनशील छन् र गद्दारीप्रति निकै निर्मम । वागनर समूहका कमाण्डर येवगेनी प्रिगोजिनको दुर्घटनामा मृत्यु प्रकरणमा रुसको हात रहेको टिप्पणी यसै भएको हैन ।
क्रेमलिननै हल्लिने गरी वागनर समूहले सशस्त्र हमला गरेपछि पुटिनले वागनरबाट गद्दारीको ठहर गरिसकेका थिए । त्यसैले उनले २४ जुनमा आकस्मिक सम्बोधनमा भनेका थिए, ‘आफ्नै कमरेडहरुमाथि आक्रमण छेडेर वागनरले गद्दारी गर्यो । मुलुक र जनताप्रतिको गद्दारीको मूल्य वागनर समूहले चुकाउनेछ ।’
उनको यो अभिव्यक्तिबाट वागनर लडाकु दस्ताप्रति पुटिनको आक्रोश र निर्ममताको आकलन गर्नसकिन्छ । प्रिगोजिनप्रति पुटिनको प्रतिशोधलाई मात्रै केन्द्रीत गरेर यसको विश्लेषण गरिनु एक पक्षीय हुनेछ । पुटिनलाई प्रिगोजिनमात्रैबाट चुनौती थिएन वा उनले मात्रै पुटिनसँग गद्दारी गरेका थिएनन् । त्यसैले हत्यानै समस्याको समाधान नरहेको पुटिनले पनि बुझेका छन् ।
प्रिगोजिनको विद्रोहपछि एउटा कुरा स्पष्ट भयो । रुसको अधिनायकवादी सरकारले वागरको मात्रै सामाना गर्नुपर्दैन । उसले युक्रेनमा आक्रमक हमलाका वृहत पक्षधरको सामना गर्नुपर्नेछ । प्रिगोजिन वागनरको मात्रै नभएर युद्धको पक्षधर समूहको प्रखर वक्तामा रुपमा आए ।
वागनर समूहको आक्रमणपछि पुटिनसमक्ष दुई विकल्प थिए ।
पहिलो, राष्ट्रवादी शक्तिको साथ लिँदै मुलुकको लक्ष्यतर्फ सबैलाई केन्द्रित गर्ने ।
दोस्रो, मुलुकलाई पूर्ण सैन्यकरण गरेर देशभक्तिहीन सम्भ्रान्तविरुद्ध दमन सुरु गर्ने ।
तर पुटिनले यी दुबै विकल्पलाई चुनेनन् । न त सम्भ्रान्त गद्दारप्रति कुनै दमन भयो । नत मुलुकलाई पूर्ण सैन्यकरणनै भयो । बरु देशभक्त भनिएका शक्तिलाई सार्वजनिक वृत्तबाट विस्तारै पन्छाउने कामको सुरुवात भयो । किनभने क्रेमलिनले उनीहरुलाईनै प्रधान शत्रु भनिसकेको थियो ।
मस्को टाइम्ससँगको कुराकानीमा क्रेमलिनका एक अधिकारीले भनेका थिए ‘विगतमा उदारवादीहरु हाम्रा प्रधान शत्रु थिए । अहिले राष्ट्रवादी शक्ति हाम्रा प्रधान शत्रु हुन् ।’
क्रमेलिनले देशभक्त भन्ने समूह र शक्तिमाथि पहिलेनै दमन र आक्रमण गरेको थियो । प्रिगोजिनको हवाइ दुर्घटना त्यसै श्रृंखलाको उपज हो भन्दा अतिशयायुक्ती हुनेछैन ।
प्रिगोजिनको हवाइ दुर्घटना अघि रुसको हवाइ सेनाका प्रमुखबाट सर्गेइ सुरोभिकनलाई हटाइयो । सुरोभिकिन र प्रिगोजिनको निकै राम्रो सम्बन्ध थियो ।
अर्कोतर्फ प्रिगोजिनकोझैँ रूसी रक्षा मन्त्रालयसँगै उनको पनि तनावपूर्ण सम्बन्ध थियो । रक्षा मन्त्री सर्गेइ सोइजु र सेनापति भलेरी जिरासिमोभसँग उनको राम्रो सम्बन्ध थिएन । जुनमा वागनर समूहले आक्रमण गर्ने वित्तिकै सुरोभिकिन गिरफ्तारीमा परेका थिए ।
यता मुलुकको पूर्ण परिचालनको पक्षमा रहेका इगोर गिर्किन पनि सत्ताको दमनमा परे । प्रिगोजिन र गिर्किनबीच हाल कुनै सम्बन्ध नरहेपनि आक्रमणपछि गिर्किन जेल चलान भए । भित्रभित्रै जारी द्वन्द्वको यो संकेत थियो ।
मस्कोलाई चुनौती दिनेगरी अहिले कोही पनि आन्दोलनरत छैन । तर उनको युद्धशैलीप्रति सम्भ्रान्त वर्ग खुशी नरहेकाले पुटिन अझै दबाबमा छन् ।
प्रिगोजिनको हवाइ दुर्घटना अघि ब्लुमवर्गले रुसको जासुसी संयन्त्रको सुझावबारे समाचार प्रकाशित गरेको थियो । त्यस समाचार अनुसार जासुसी संयन्त्रले पुटिनलाई रक्षामन्त्री र प्रधान सेनापति हटाउन सुझाव दिएको छ । त्यति मात्रै होइन युद्धलाई थप आक्रामक बनाउनका लागि सैन्य कानुन लगाउन भनेको छ
सैन्यकरणको पक्षमा रुसी सम्भ्रान्तको पनि साथ छ । अर्कातर्फ सम्भ्रान्त वर्गको सम्पत्ति राष्ट्रियकरण र सैन्यकरणको वकालत गर्ने समूह पनि उत्तिकै छन् । रुसमा गरिएको एक सर्वेक्षणमा २० प्रतिशतले प्रिगोजिनको दुर्घटनामा सहानुभुती प्रकटगरेका छन् ।
‘क्रोनिकल प्रोजेक्ट’ को सर्वेक्षण अनुसार २२ प्रतिशत रूसी मात्रै युद्धको कट्टर समर्थक छन् । यिनीहरु भन्छन्-‘विशेष सैन्य अभियानमा हाम्रो पूर्ण समर्थन मात्रै छैन । आफ्नो लक्ष्य पुरा भएपछिमात्रै युक्रेनबाट सेना फिर्तीको पक्षमा हामी छौँ । यस घडीमा सरकारले आफ्नो खर्चको प्राथामिकता पूर्ण रुपमा रक्षा मामिलामा दिनुपर्छ । प्रिगोजिन र गिर्कीनको पूर्ण सैन्यकरणको आवाजलाई ती जमातले साथ दिइरहेका छन् ।
आफूलाई उग्र देशभक्त भन्ने समूहको पक्षधरतामा पुटिन छैनन् । उनले उनीहरुको उग्र आवाजलाई दबाउन खोजिरहेका छन् । यो परिदृश्यमा प्रिगोजिनको मृत्यु दुर्घटना वा हत्या को बहसभन्दा महत्वपूर्ण सवाल अहिले अर्को छ ।
दुर्घटना प्रिगोजिनप्रति पुटिनको बदलाभावका रुपमा धेरैले हेरिरहेका छन् । त्यसैले आक्रोशित देशभक्तहरु भन्छन्, ‘ पुटिन उदारवादी युद्धविरोधीका साथ मात्रै होइन युद्धका पक्षधरसँग पनि कठोर व्यवहार गर्न तयार छन् ।’
एउटा कुरा के प्रस्ट छ भने पुटिन वागनर समूहले खडा गरेको संकटबाट बाहिर निस्किन खोज्दैछन् । त्यसैले, विद्रोही कमाण्डर मारिएको र उनका सहयोगी रहेका हवाइ सेनका प्रमुखलाई हटाइएको हुनसक्छ ।
यो विषय दुईवटा कुरासँग जोडिएका छन् ।
पहिलो, वृहत्तर सैन्य परिचालन ।
दोस्रो, राष्ट्रपतीय निर्वाचन । सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा खराब समाचार सुन्न नपरोस् भन्ने पक्षमा पुटिन छन् ।
वागनर समूहको आक्रमण यताको परिणाम हेर्दा के भन्न सकिन्छ भने प्रिगोजिनले यो युद्ध हारिसके र पुटिन जीतका लागि अझै संघर्षरत छन् । रुसी नेताहरुले वागनर आक्रमणले झोसेको संकट र आधारभूत कारणबारे केही खुलाएका छैनन् ।
अर्कोतर्फ, सम्भ्रान्त वर्गको मस्तिष्कमा पसेको प्रिगोजिनवाद हटाउन सकेका छैनन् । न त उनले आफ्ना नीतिलाई युद्ध जित्ने गरी कार्यान्वयन गरेका छन् ।
प्रिगोजिनको प्लेन दुर्घटनापछि पुटिनले कठोरता देखाउन सक्ने धेरैको विश्वास छ। तर उनका प्रतिपक्षीहरु भन्छन्, ‘उनको कठोरता आफ्नो कमजोरी ढाक्ने प्रयत्नका लागि हो ।’
सार्वजनिक मन्तव्यमा उनी रुसको कर्मचारीतन्त्रमा देशभक्ति पर्याप्त नरहेको भन्दै उनीहरुलाई लल्कार्थे । प्रिगोजिन भन्थे, ‘राष्ट्रको लक्ष्यमा सबैलाई एकतावद्ध बनाउनका लागि अर्थतन्त्रलाई सैन्यकरण र सम्भ्रान्त वर्गको सम्पत्तिलाई राष्ट्रिय लक्ष्यमा परिचालन गरिनुपर्छ ।’