प्रधानमन्त्रीबाट बोल्ड आउट इमरानको राजनीतिक भविष्य के होला ?
क्रिकेट हिरो इमरान खाना सत्ताको क्रिजबाट बोल्ड आउट हुँदै पेभेलियन फर्किएका थिए । सत्ताको बर्हिगमनमा पनि उनले इतिहास रचे ।
पाकिस्तानको इतिहासमा उनी यस्ता प्रधानमन्त्री हुन् जसले संसदको लोकतान्त्रिक प्रक्रियाको सामना गरेर सत्ता छोडे । पाकिस्तानको संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने खान पहिलो प्रधानमन्त्री हुन् ।
२०१८ जुलाइ सत्ताको क्रिजमा आएका उनी १० अप्रिल २०२२ मा पेभिलियन फर्किनुपरेको थियो । सत्ता बाहिरै रहँदा पनि खानले राजनीतिप्रतिको मोह त्यागेनन् । सत्तानै तर्सने गरी ठूल-ठूला र्याली र सभा गरे ।
हाल २ महिनाको अवधिमा उनी २ पटक गिरफ्तारमा परेका छन् । यसपटक खान तीन वर्षका लागि जेल चलान भएका छन् । अब उनको दलको पाकिस्तान तेहरिक ए इन्साफ के होला भन्ने चिन्ता सर्वत्र छ ।
पाकिस्तानमा भ्रष्टाचार र अनियमितताको अन्त्य गर्ने वाचा गरेर सत्तामा आएका उनले नट आउट पूर्ण पारि बिताउने सोचेका थिए । एकपटक निर्वाचित भएर चारवर्षको अवधि शासन गर्ने प्रधानमन्त्री त भए तर सत्ताको पाँच वर्षको पूर्ण कार्यकाल उनले कटाउन सकेनन् । ।
सेनालाई रिझाउन नसक्दा उनले सत्ता छोड्नुपरेको जानकारहरु बताउँछन् ।
सत्ताबाट बाहिर आएर पनि उनले पाकिस्तानमा लोकतान्त्रिक पद्धतिको पालनाका लागि चुनावको माग गरे । विशाल र्याली र आमसभामार्फत सत्तालाइ दबाब दिए । उनलाई लक्षित गरेर गोलीसमेत प्रहार भयो । तर खानले दबाब दिन छोडेका थिएनन् ।
खानमाथि राष्ट्रको सम्पत्ति बेचेर विलासी जीवन विताएको, चरम भ्रष्टाचार गरेर राष्ट्रलाई आर्थिक संकटमा पुर्याएको आरोप लाग्यो । पेसावरस्थित निवासबाट उनी ९ मेमा गिरफ्तार परेका थिए । ५ असगस्ट उनी फेरि गिरफ्तारमा परे ।
खानको पहिलो गिरफ्तारीमा पेशावरदेखि कराचीमा ठूलै हंगामा मच्चिएको थियो । सडक समर्थकको आक्रोश र सेनाको सर्तकताले भरिएको थियो । शनिबार उनी गिरफ्तार पर्दा भने पेशावर र कराँचीका सडक शान्त थिए ।
राष्ट्रको सम्पत्ति बेचेर अनियमितता गरेको आरोपमा खानलाई अदालतले तीन वर्षको जेल सजाए सुनाएको हो । फौजदारी अभियोग लागेकाले खानले अब आगामी निर्वाचनमा उम्मेदवारी दिन पाउनेछैनन् ।
गिरफ्तारीअघि खानले सत्तालाई दबाब दिन खानको शान्तिपूर्ण आन्दोलनको आग्रहलाई समर्थकले यसपटक टेरेका छैनन् ।
खानका समर्थकको मौनतालाई सरकारले उनीहरुले तेहरिक ए इन्साफलाई पछ्याउन नचाहेको रुपमा अर्थ्याएको छ । सैन्य तथा गुप्तचरी संयन्त्रसँग खानको सम्बन्ध विगतको भन्दा थप अमिलिएको छ ।
विश्लेषकहरु भन्छन्, ‘सैन्य तथा गुप्तचरी संयन्त्रसँग निकैनै मित्रवत सम्बन्ध भएका बखत खानको सत्तामा उदय भयो । जसै सम्बन्ध अमिलियो उनी रसातलमा पुगे।’
गत मेमा निवासबाट सरकारले जर्बजस्त गिरफ्तार गरेपछि खानले सैन्य नेतृत्व र त्यसको समर्थन प्राप्त सत्ताको निकै आलोचना गरे । खानको गिरफ्तारसँगै सेनाका भवनहरुमा आक्रमण भएपछि सेनाले यसका विरुद्ध शून्य सहनशीलताको नीति लिने बताएको थियो ।
यो प्रकरणका कारण खानका हजारौं समर्थकहरु गिरफ्तारीमा परे । उनीहरुविरुद्ध सैनिक अदालतमा मुद्दा चल्यो । नागरिकलाइ सैनिक अदालत लाने कुराको चौतर्फी विरोध भए पनि सरकारले त्यहीँ सुनुवाइ गरिछाड्यो ।
खानका समर्थकमाथिको सैन्य कारबाहीले उनको दललाई कमजोर बनाउँदै लग्यो ।
सत्ताले खानविरुद्ध निकै कठोर नीति लिएको छ । पाकिस्तानका मिडियामा सेना परिचालन गरेको छ । पत्रकारहरुलाई खानको नाम उच्चारणनै नगर्न उर्दी जारी गरिएको छ ।
खानका समर्थकहरुले पनि सामाजिक सञ्जाल र अन्यत्र सत्ताको विरोध र खानको पक्षमा अभिव्यक्ति दिन छोडेका छन्-‘पाकिस्तानमा लोकतान्त्रिक विधिको पालना हुनुपर्छ भन्ने खानको अडानमा हामी असहमत होइनौं । तर उनको पक्षमा कहीँ लेख्दा वा बोल्दा सत्ताको निशाना र कठोर कारबाहीमा पर्ने त्रासले हामीले यसपटक केही गर्न सकेका छैनौं,’ समर्थकहरु भन्छन् ।
औपचारिक रूपमा सरकारले शान्तिपूर्ण आन्दोलनमा कुनैपनि धरपकड र त्यसमा सहभागीलाई गिरफ्तार नगर्ने बताएको छ । तर व्यवहारिक रुपमा सरकारको कदम फरक छ । उसले खानका समर्थकको भेलालाई निरुत्साहित गर्न प्रहरी प्रशासन तथा सेनालाइ उर्दी जारी गरेको छ ।
सयभन्दा बढी खानका समर्थक गिरफ्तारमा परिसकेका छन् । पाकिस्तानको राजनीतिलाई नियालिरहेका एशिया इन्स्टिच्युटका निर्देशक माइकल कल्गम्यान भन्छन्, ‘सरकारको कठोर कारबाहीको नीतिले खानका समर्थकको सात्तो गएको छ र उनीहरु मौनता साँध्न विवश छन् । ‘
खानका समर्थकहरुलाई यक्ष प्रश्न के छ भने भने सत्ताविरुद्ध सडकमा आक्रोश पोख्न नसेकेका उनीहरुले मतदानमा आक्रोशको फिलिङ्गुलाई ज्वालामा परिणत गर्लान् वा नगर्लान् ?
खानको गिरफ्तारीका बाबजुद उनका कानुन व्यवसायीहरुले हरेस खाएका छैनन् । यसका विरुद्ध अझै अपिल गर्ने उनीहरु बताउँछन् । केही महिनाअघिसम्म उनका कानुन व्यवसीहरुले खानलाइ अस्थायी राहत दिएका थिए । अब यो श्रृंखला कायमै होला वा नहोला भन्ने अझै प्रष्ट छैन ।
पाकिस्तानको राजनीतिक वातावरण पनि विगतमा भन्दा निकै पृथक बनिसकेको अवस्थामा खानको आगामी भविष्य पनि अनिश्चयको भुमरीमा फसेको छ ।