‘महिला खेलाडी आफ्नो समस्या भन्न लजाउँछन्’
पछिल्लो समय विश्व खेलकुदमा महिला खेलाडीको सङ्ख्या निकै बढेको छ । महिला खेलकुदका प्रतियोगितामा पनि वृद्धि भएको छ । महिला खेलकुदको लोकप्रियता पनि विगतको तुलनामा निकै बढेको छ ।
विश्व खेलकुदमा विज्ञान र प्रविधिको पनि गहिरो प्रभाव देखिएको छ । एकातिर विज्ञान र प्रविधिको प्रयोगले विश्व खेलकुदलाई सहज तुल्याएको छ भने अर्कोतिर यसले खेल मैदानलाई जटिल पनि बनाउँदै लगेको छ ।
तर विश्व खेलकुदमा महिलाको सङ्ख्या र महिला खेलकुदको लोकप्रियता बढे पनि महिला खेलाडीलाई आधार बनाएर निकै कम अनुसन्धान भएको पाइन्छ । एक तथ्याङ्क अनुसार विश्व खेलकुदमा भएका वैज्ञानिक अनुसन्धानमध्ये महिला खेलाडीलाई आधार बनाएर गरिएको अनुसन्धान ६ प्रतिशत मात्र रहेको छ ।
विश्व खेलकुदका लागि यो दुःखद पक्ष हो । खेलकुद क्षेत्रमा उदाउँदादेखि लिएर उत्कृष्ट खेलाडीका रूपमा स्थापित हुँदासम्म महिला खेलाडीले गर्नु परेको सङ्घर्षको विषयमा कहिल्यै वैज्ञानिक अनुसन्धान भएको पाइँदैन ।
अनुसन्धान भन्छ, महिला खेलाडीको विषयमा खेलकुद विज्ञानलाई खासै प्रयोग गरिएको पाइँदैन । खेल मैदानमा महिला खेलाडीले केकस्ता समस्याको सामना गर्नुपरेको छ ? महिला खेलाडीको प्रदर्शन सुधार्न कस्ता कार्यक्रम अगाडि सारिनु पर्छ ? खेल मैदानमा महिला खेलाडीले शारीरिक वा मानसिक रूपमा कस्तो अप्ठ्यारो बेहोर्नुपरेको छ ? भन्ने विषयमा वैज्ञानिक अनुसन्धानको खबैभन्दा बढी खाँचो देखिन्छ ।
समग्र रूपमा सबै खेलाडीलाई एउटै कसीमा घोटेर हेर्ने गरिन्छ । सामान्यतः विश्व खेलकुदको नीति पनि यही हो । तर महिला खेलाडीको हकमा अर्को पाटो पनि आकर्षित हुन्छ । पुरुष खेलाडी र महिला खेलाडीबीच शारीरिक र मानसिक रूपमा केही भिन्नता हुन्छन् । सबैभन्दा पहिले त्यसलाई बुझ्नु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले खेलकुद विज्ञान महिला खेलाडीको विषयमा कन्द्रित हुनु आवश्यक छ ।
सन् २०१९ मा डिना आसेर स्मिथ दुई सय मिटर दौडको विश्व च्याम्पियन बनेकी थिइन् । उनले गत वर्ष भएको युरोपियन च्याम्पियनसिपबाट भने अप्रत्यासित रूपमा आफ्नो नाम फिर्ता लिइन् । त्यतिबेला यो विषयले ठुलै चर्चा पाएको थियो ।