एन्फाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको मन्त्रीको भनाइ
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाका लागि नेपाल सरकारले उच्चस्तरीय पहल गरिरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि निलम्बन गरिएको उनले बताए । पछि एन्फाको निवेदनपछि राखेपले निलम्बन फुकुवा गरे पनि फिफाले त्यसलाई ‘तेस्रो पक्षको हस्तक्षेप’ ठहर गर्दै एन्फालाई निलम्बन गरेको मन्त्री पोखरेलले बताए ।
उनले फिफासँग समन्वय गरी निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको जानकारी दिए ।
त्यस्तै, नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्यान्डमा उपचाररत आशिष राईलाई राखेपको स्वीकृत बजेटको सीमाभित्र रहेर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री पोखरेलले बताए ।