बर्नी स्यान्डर्सको भाइरल तस्बिरले पाँच दिनमै १८ लाख डलर उठायो
गत साता जो बाइडेन अमेरिका ४६ औं राष्ट्रपति बने। विश्वको शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपतिको सपथ ग्रहणमा संसारको ध्यान हुनु स्वभाविक हो।
सपथ ग्रहणपछि भने बाइडेनको भन्दा धेरै चर्चा बर्नी स्यान्डर्सको भयो। अमेरिकाको राष्ट्रपतिमा दाबी गर्दै बाइडेनसँग पार्टीको चुनाव लडेका स्यान्डर्स उनको सपथ समारोहमा आएका थिए तर सुटेडबुटेड भएर होइन। हातमा उनको पञ्जा र ज्याकेट लगाएर उनी कुर्सीमा उपरखुट्टी लगाएर बसेका थिए। समाचार संस्था एएफपीका फोटोग्राफरले उनको फोटो खिचे।
उनको त्यही फोटो संसारभरि भाइरल भयो। इन्टरनेट प्रयोगकर्ताले आफूले चाहेको ठाउँमा त्यो फोटो राखेर मिम बनाए। सगरमाथा आधार शिविरदेखि चन्द्रमामा स्यार्डर्सको तस्बिर जोडियो।
'उनले राम्रो मानेर लगाएको मलाई मनपर्यो,' शिक्षिका जेन एलिसले एनइसिएन-टिभीसँग भनिन्,'स्यान्डर्सले पञ्जाले लगाएकोमा आफूलाई सम्मानित भएको महसुस गरेकी छु।'
त्यो तस्बिर भाइरलमात्र भएन अहिले त्यसले १८ लाख अमेरिकी डलर पनि उठाएको छ।
केही दिनअघि स्यान्डर्सले आफ्नो तस्बिरबाट प्रेरित भएका केही सामान वेबसाइटमा बिक्रीका लागि राखेका थिए। सुरूमा उनले राखेका टिसर्ट, स्टिकरलगायत सामान ३० मिनेटमै बिक्री भएका थिए। बुधबार वक्तव्य जारी गर्दै स्यान्डर्सले पाँच दिनमा १८ लाख डलर पैसा जम्मा भएको र यो उनको राज्य भर्मोन्टमा समाजसेवामा खर्च हुने बताएका छन्। उनले उक्त पैसा राज्यका विभिन्न परोपकारी संस्थाहरूलाई दिनेछन्।
स्यान्डर्स भर्मोन्टबाट सिनेटर छन्। स्यान्डर्सले लगाएको पञ्जा भर्मोन्ट प्राथमिक विद्यालयकी शिक्षिकाले प्रशोधन गरेको ऊनबाट पञ्जा बनाएकी थिइन्।